काठमाडौं, २९ वैशाख । लुईस एनरिके नेतृत्वको बार्सिलोनाले आगामी शनिबार स्पेनिस ला लिगाको उपाधिमा कब्जा जमाउन सक्छ, यद्यपी त्यसका लागि उसले एक साता अघिमात्रै रेलिगेशनबाट बचेर पार्टी मनाइरहेको ग्रानाडालाई उसकै घरेलु मैदानमा हराउनुपर्ने हुन्छ ।
स्पेनिस फुटबल सिजनकै सबैभन्दा उत्कर्षमा पुगेका बेला ग्रानाडाका गोल किपर इभान केलाभाले क्याटलान टोली बार्सालाई चेतावनी दिइसकेका छन्, ‘कडा चुनौती सामना गर्नका लागि तयार रहे हुन्छ ।’
यदि बार्सिलोनाले आफ्नो यो अन्तिम खुट्किलो पनि विजयी यात्रासहित समाप्त गरेमा उपाधि रक्षा गर्नेछ । त्यसमा रियल मड्रिड र डिपोर्टिभो ला कोरुनाबीचको खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन ।
जिनेदाइन जिदानेको टोलीभन्दा १ अंकले अघि रहेको बार्सालाई उपधिको प्रमुख दावेदार मानिए पनि केलाभा भने बार्सिलोनाले यसअघि पनि ग्रानाडामा हारको सामना गर्नु परेको इतिहास रहेको भन्दै यसपटकसमेत त्यति सहज छैन, भन्छन् ।
‘हामी एकदमै उत्साहको क्षणमा छौं । रेलिगेशनबाट बचेकोमा तीन दिनदेखि यहाँ सेलिब्रेसन जारी छ । अब अन्तिम चरणमा हामीले बार्सिलोना र रियलले डिपोर्टिभोसँग खेल्नेछ । डिपर्टिभो, जसले पनि अघिल्लो सातामात्रै रेलिगेशनको खतरा टारेको थियो,’ गोल डटकमसँग केलाभाले भनेका छन् ।
‘ग्रानाडा एउटा छुट्टै सहर हो । यहाँ बार्सा र रियलका धेरै समर्थक छैनन् । सबैले ग्रानाडालाई नै समर्थन गर्नेछन् । फुटबल नै यहाँको सबैभन्दा लोकप्रिय खेल हो । एकताका पिङ पङ पनि यहाँ लोकप्रिय थियो, जब भ्लादिमिर साम्सोनोभले यहाँ खेल्दथे ।’
उनी अघि भन्छन्, ‘मिडियाहरुले हामीलाई रियलसँग नजिक रहेको भनेर चर्चा गरिरहेका छन् । जाभी मर्क्युजले उसको छोराको नाम मड्रिक राखेको, मैले कोभासिससँग फोटो खिचेको तथा हाम्रा केही खेलाडीले पहिले ‘रियल बी’का लागि खेलेको कुरालाई आधार बनाएर समाचारहरु प्रकाशित भएका छन् । तर, सेलिब्रेसनमा व्यस्त रहेकाले हामीले दुई दिनदेखि अभ्याससमेत गरेका छैनौँ ।’
अघिल्लो खेलको स्मरण गर्दै उनले भने, ‘सेभियमा हाम्रा ५ हजार समर्थक थिए । त्यसका लागि हामी खेलाडीले जनही १०० युरो र क्लबका अध्यक्षले २२ युरो पैसा उठाएर १९ वटा बस रिजर्भ गरेका थियौं । यहाँ हाम्रालागि समर्थकहरु भगवान सरह हुनेछन् ।’
उनले अघि भने, ‘माटियो कोभासिस मेरो एकदमै नजिकको साथी हो । तर सोच्नुस्, बार्साले खेलको सुरुवातमा नै गोल हान्यो भने के हुन्छ ? यहाँ त ‘hasta la vista‘! (फेरि भेटौंला, अलविदा !) भन्ने न हो ।’
‘सन २०१४ मा पनि यहाँ खेल जित्नका लागि बार्सिलोना स्वभाविक दावेदार थियो । तर, १-० ले हार्यो । अब कल्पना गर्नुस्, यदि मेस्सी-नेयमार एण्ड कम्पनीले यहाँ उपाधि गुमायो भने ….. !’
उपाधिको प्रमुख दावेदार बार्सिलोनासँग खेल्नुअघि नै रेलिगेशनबाट बचेको क्षणमा केलाभाजस्तै आन्द्रेस फर्नाण्डेज पनि खुसी छन् ।
‘रेलिगेशनको खतरा टर्नु हाम्रा लागि ठूलो खुसीको कुरा हो, जुन यस सिजन हाम्रो मुख्य लक्ष्य थियो,’ उनले भने, ‘सौभाग्यवस हाम्रा लागि सबै सोचेजस्तै भयो । तर यदि बार्सिलोनासँगको अन्तिम खेलमा हामीलाई जित अनिवार्य भएको भए साँच्चै एउटा अचम्मकै क्षण हुने थियो । हामीले जित्नै पर्थ्यो । तर हामीलाई के पनि थाहा थियो भने सेभियासँगको खेल जित्नु हाम्रा लागि तुलनात्मकरुपमा सहज थियो ।’
The post रियल-ग्रानाडा सम्बन्ध, अनि यस्तो छ बार्सिलोनाको उपाधि यात्रामा चुनौती appeared first on Sajha Post.