पोखरा, ३० भदौ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताएका छन् ।
सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँं अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबको रुपमा विकास हुने विश्वास व्यक्त गरे ।
सचिव दाहालले निजी क्षेत्रसँग हातेमालो गर्दै खेलकूद क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेकोे बताउँदै पोखरा रंगशालामा एक वर्ष भित्रमा आधुनिक खालको स्टेडियम र डोमसेट कभर्डहल निर्माण गरिने धारणा व्यक्त गरे ।
सो अवसरमा क्लबद्वारा सञ्चालित सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पत्रकार सुरज श्रेष्ठलाई सम्मान गरियो । पुरस्कारको राशी १५ हजार ५५५ रहेको छ ।
पुरस्कृत व्यक्ति श्रेष्ठले प्राप्त गरेको पुरस्कारको राशीमा चार हजार ४४५ थप गरी २० हजार पुर्याएर क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषमा राखिदिने घोषणा गरे ।
त्यस्तै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङलाई पनि सो अवसरमा सम्मान गरियो ।
क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, वरिष्ठ पत्रकार नारायण कार्की ,उद्योगपति सूर्यबहादुर केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङलगायतका वक्ताले पोखरामा स्पोर्टस एकेडेमीको खाँचो औंल्याए । रासस
The post पोखरालाई खेलकुद हबको रुपमा विकास गरिन्छ : सचिव दाहाल appeared first on Sajha Post.