काठमाडौँ, २८ कात्तिक । एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।
यसअघि, गत चैतमा भएको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलले पराजित भएको थियो । खेल बराबरी भएपनि नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यसअघि, चार खेल खेलेको नेपाल तीन खेलमा हार तथा एक खेलमा बराबरीको नतिजा ल्याएको थियो । समूह एफमा रहेको फिलिपिन्सको आजको खेलपछि नौ अंकका साथ शीर्ष स्थानमा रहन पुग्यो भने चार खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ ।
अनिल गुरुङबाट सन्न्यास
फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले आज अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिएका छन् ।
खेलको ८२ औँ मिनेटमा सुजल श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका उनलाई एन्फाले आज एक समारोहवीच बिदाइ गरेको छ । दशवर्षे आफ्नो खेल जीवनमा अनिलले आजको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेल पूरा गरे।
आफ्नो खेल यात्राभर उनले अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २००७ मा ओमनविरुद्वको अन्तर्राष्ट्रिय खेलबाट डेब्यु गरेका अनिलले सन् २००८ मा नेपालमा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए ।
त्यस्तै सन् २०१३ को साफ च्याम्पियनसिपमा उनले भारतविरुद्धको खेलमा १०औं अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
The post नेपाल र फिलिपिन्सको खेल बराबरी, गुरुङको सन्न्यास appeared first on Sajha Post.