एजेन्सी, १९ मंसिर । विख्यात फुटबल स्टार लियोनल मेस्सीको शालिक अराजक समूहले तोडफोड गरी ढालेका छन् । अर्जेन्टिनाको राजधानी ब्युनेस एयरसमा रहेको मेस्सीको काँसको प्रतिलाई अराजक समूहले तोडफोड गरी ढालेको हो ।
अराजक समूहको आक्रमणमा परी मेस्सीको शालिक गोली गाँठोभन्दा केही माथिबाट फुटेर ढलेको छ । गत वर्ष जुनमा अनावरण गरिएको उनको प्रतिमा योसहित दुईपटक निशानामा परेको छ । तोडफोडपछि उनको प्रतिमाको मुख्य भाग भुइँमा ढलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमले तोडफोड भएको मेस्सीको शालिकको तस्बिर पोस्ट गरेका छन् । यसअघि पनि गत जनवरीमा मेस्सीको शालिक कम्मरबाट काटिएको थियो ।
गत अक्टोबरमा सम्पन्न विश्वकप छनौटको अन्तिम खेलमा इक्वेडर विरुद्ध ह्याट्रिक गर्दै मेस्सीले अर्जेन्टिनालाई विश्वकप २०१८ मा पुर्याएका थिए । उनले २००० मा अर्जेन्टिना छाडेका हुन् । बार्सिलोनाबाट खेल्दै उत्कृष्ठ प्रदर्शन गरे पनि देशको लागि केही गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ ।
बार्सिलोना क्लबबाट उनले चारपटक युरोपियन कप, ८ पटक लिग उपाधि उचालिसकेका छन् । यसैगरी पाँच पटक बोलोन डी’ओ र तीनपटक क्लब विश्वकप जितेका उनले राष्ट्रको लागि खेल्दा भने निराशाजनक नतिजा हात पारेका छन् ।
सन् २०१६ को कोपा अमेरिका खेलमा चिलीसँग फाइनल खेलमा मेसीले पेनाल्टी गोल गर्न नसकेपछि अर्जेन्टिनीहरु रुष्ट भएका थिए । सुरुमा निराश भएर सन्यास लिएका उनले पछि उक्त घोषणा फिर्ता लिएका थिए । यद्यपि उनको नेतृत्वमा अर्जेन्टिनाले केही सफलता पनि हासिल गरेको छ । उनले राष्ट्रिय टिमबाट सन् २००८ को ओलम्पिकमा फुटबलमा गोल्डकप जिताउन भूमिका खेलेका थिए ।
The post अराजक समूहको निशानामा मेस्सीको प्रतिमा, भुइँमा ढालियो मेस्सीलाई appeared first on Sajha Post.