काठमाडौं, २९ साउन । दक्षिण एसियाली खेलकुदमा भारतको सधैँ दवदवा रहँदै आएको छ । उसले आफ्ना प्रतिस्पर्धीहरुलाई पदक तालिकामा आसपास समेत आउन दिँदैन । अनि यही भारत हो, जसले ओलम्पिकमा भने एउटा मात्र पदक जित्न निकै संघर्ष गर्दै आएको छ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक सुरु भएको एक सातासम्म पनि भारतले पदक तालिकामा खाता खोल्न सकेको छैन ।
भारतका १ सय १९ खेलाडी ओलम्पिकमा १५ विधाका खेलमा सहभागी छन् । ३७ जनाको यात्रा विना पदक सकिइसकेको छ । जब कि स्पोर्ट्स अथोरिटी अफ इण्डिया (साई)ले ओलम्पिकको सुरुवातमा भारत सरकारलाई बुझाएको रिपोर्टमा कम्तिमा १९ पदक जित्ने दावी गरिएको थियो । तर अझैसम्म एउटा पदक पनि हात लाग्न सकेको छैन ।
जनसंख्याको हिसाबले विश्वकै दोस्रो ठूलो मुलुक भारतले ओलम्पिकमा बर्सेनि किन पदकका लागि यति धेरै मुस्किल झेल्दै आएको छ त ? छिमेकी चीनले त्यसको कारण खोजेको छ । चीनको चर्चित पत्रिका पिपुल्स डेलीले भारतले पदक नजित्नुको कारण खोजेको हो ।
उसका अनुसार भारतले पदक नजित्नुको मुख्य प्राय भारतीयहरु शाकाहारी र बढी धार्मिक हुनु नै हो । साथै खेल क्षेत्रमा रहेको भ्रष्टाचार र लगानीको कमीले पनि पदक नजित्नुमा भूमिका खेलेको छ ।
पिपुल्स डेलीले लेखेको छ, ‘प्राय: भारतीयहरु शाकाहारी छन् । शाकाहारी खानपानका कारण भारतीय खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्दैनन् ।’
पिपुल्स डेलीले अघि लेखेको छ, ‘भारतीय नागरिकहरु आफ्ना बालबालिकालाई खेल्नका लागि प्रेरित गर्दैनन् । उनीहरु आफ्नो बालबालिकालाई डाक्टर वा इञ्जिनियर बनाउन चाहन्छन्, न कि खेलाडी ।’
The post चीनले खोलिदियो ‘दक्षिण एसियाको दादा’ भारत ओलम्पिकमा निरिह देखिनुको रहस्य appeared first on Sajha Post.