काठमाडौं, ३ चैत । आईसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि जारी प्रतिष्पर्धामा नेदरल्याण्डले नेपाललाई १९० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ८९ रन जोडेको हो ।
खेलमा नेपालका लागि सोमपाल कामीले चार तथा ललित राजबंशी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । नेदरल्यान्ड्सका बास डे लिडेले ३९, म्याट डोउडले २८, पिटर सिलारले २३ तथा रोलेफ भान डर मार्वे र स्कट एडवार्ड्सले २५/२५ रन जोडे ।
खराब सुरुवात गरेको नेदरल्याण्डले पहिलो ओभरमा रन नजोडी एक विकेट गुमायो भने सोमपाल कामीले दोस्रो बलमा वेस्ली वारेस्सीलाई आउट गरेर नेपाललाई दोस्रो सफलता दिलाए । सोमपालले तेस्रो ओभरमा पनि विकेट लिँदै बेन कुपरलाई आउट गरे । दुवै ब्याट्सम्यान शुन्यमा आउट भएका हुन् ।
दुवै विकेटमा आरिफ शेखले क्याच आउट गराएका थिए । नेदरल्यान्ड्सले ३७ रन जोड्दा सोमपालले नै पिटर बोरेनलाई सात रनमा आउट गर्दै तेस्रो विकेट लिए । यसैगरी सन्दीपले ओपनर डोउडलाई चौथो विकेटका रुपमा बोल्ड आउट गर्न सफल भए भने पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरेको नेदरल्यान्ड्सले छैटौं विकेटका लागि पनि ४१ रनको साझेदारी गरेको थियो । ललितले एडवार्ड्स र मार्वे दुवैलाई आउट गरेका हुन् ।
यो खेलसँगै नेपालका सोमपाल कामी लिस्ट ए क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेर रेकर्ड बनाएका छन् । कामीले लिस्ट ए खेलमा ५२ विकेट लिन सफल भएका हुन् । नेदरल्यान्ड्सविरुद्ध सोमपालले १० ओभरमा २ मेडन राखेर २४ रन दिए ।
सन्दीपले जारी प्रतियोगिताका हरेक खेलमा विकेट लिएका छन् । अघिल्लाे खेलमा चार विकेट लिएका सन्दीपले जारी प्रतियोगितामा लिएका विकेटको संख्या १३ पुगेको छ। उनले लिस्ट ए क्रिकेटमा २१ खेल खेल्दै ४२ विकेट लिएका छन् ।
The post नेदरल्याण्डले दियो नेपाललाई १९० रनको लक्ष्य, सोमपालको कीर्तिमान appeared first on Sajha Post.