हैदराबाद, २५ वैशाख । आइपिएलको सोमबार राति राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । आइपिएलको अहिलेसम्म भएको ३९ खेलमा हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा छ ।
उसले १० खेलमा ८ खेल जितका साथ १६ अंक जोडेको छ । आइपिएलको पुराना सिजनका तथ्यांक नियाल्दा यो अंकका साथ हैदरावाद प्लेअफमा पुग्ने निश्चित भएको छ । यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले टस जितेर बलिङ रोजेका थिए ।
हैदरावादले पहिला ब्याटिङ गर्दै कप्तान केन विलियम्सनको ५६ रनको मद्दतमा २० ओभरमा १० विकेट गुमाउँदै १४६ रन जोडेको थियो । उनी म्यान अफ दि म्याच घोषणा भए ।
जवाफी ब्याटिङमा उत्रिएको आरसिबी २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रनमा समेटियो । खेलको अन्तिम बलसम्म भुवनेश्वर कुमारले कोलिन डि ग्रान्डहोमलाई ३३ रनमा बोल्ड गरिदिए । मनदीप २१ रन बनाएर नटआउट खेले । खेलको अन्तिम बलमा दुवै समूहले १-१ विकेट गुमाउनु रोचक पक्ष रह्यो ।
आरसिबीका लागि कप्तान विराट कोहलीले सबैभन्दा बढी ३९ रन बनाए । उनी ३० बलमा ३९ रन बनाएर प्याभेलियन फर्किए । उनलाई शाकिब अल हसनको बलमा युसुफ पठानले क्याच गरिदिए । एबी डिभिलियर्सको विकेट पनि शाकिबले नै लिए । उनी केवल ५ रनमा आउट भए ।
आफ्नो पहिलो आइपिएल खेलिरहेका मोइन अलीलाई १० रन जुटाएपछि सिद्धार्थ कौलले विकेटकिपर ऋद्धिमान साहाको हातबाट क्याच आउट गराइदिए ।
पार्थिव पटेल १३ बलमा २० रन बनाउँदै शाकिब अल हसनको बलमा एलबीडब्ल्यू हुन पुगे, जबकि मनन बोहरा सन्दीप शर्माको बलमा बोल्ड भए । उनले ८ रन बनाए ।
हैदरावादका लागि सन्दीप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कौल र राशिद खान १-१ विकेट लिए । शाकिब अल हसन २ खेलाडीलाई प्याभेलियन फर्काउन सफल भए ।
आरसिबीका बलरले ९ थप रन दिए । यसमा ५ वाइड र एक नो बल पनि थियो । यही ६ बलमा सनराइजर्स हैदरावादको स्कोरमा १३ रन थपियो ।
सनराइजर्स हैदरावादले अन्तिम २ ओभरमा ५ विकेट गुमायो ।
यो सिजनमा हैदरावाद र बैंग्लोरको बीच यो पहिलो खेल थियो । यो खेलमा सनराइजर्स हैदरावादले बाजी मार्यो । आरसीबी १० खेलमा केवल ३ खेल जितेको छ । अंक तालिकामा आरसिबी ६ अंकका सात सातौं स्थानमा रहेको छ । यो पराजयसँगै उसको प्लेअफमा पुग्ने सम्भावना साँघुरिएको छ ।
The post आइपिएल: हैदराबादले बैंग्लोरलाई ५ रनले हरायो, केन विलियम्सन बने नायक appeared first on Sajha Post.