कायरो, २३ साउन । रूस विश्वकपमा सबैभन्दा पाका खेलाडी इसाम अल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । इजिप्टका ४५ वर्षीय हाडारीले रूस विश्वकपमा इजिप्टका गोलकिपरका रुपमा सहभागिता जनाएका थिए । उनको सहभागिताले विश्वकप खेल्ने जेठो खेलाडीको रुपमा कीर्तिमान पनि बनाएको थियो ।
मंगलबार सन्यासको घोषणा गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘लामो समय फुटबलमा बिताएसँगै मैले फुटबलबाट विश्राम लिने सोच बनाएको छु ।’ उनले अगाडि थपेका छन्, ‘२२ वर्ष इजिप्टको राष्ट्रिय टोलीबाट खेलेँ । यो अवधि मेरा लागि निकै उत्कृष्ट बन्यो ।’
उनले सन्यासको कारण खुलाउँदै अगाडि लेखेका छन्, ‘अब नयाँ खेलाडीलाई पनि मौका दिनुपर्छ । त्यसैले मैले आफ्नो ग्लोभ्स थन्क्याउने निर्णय गरेको हुँ ।’
उनी फुटबलमा ‘हाइ डाम’ को उपनामले चिनिन्छन् । इजिप्टबाट १ सय ५९ खेल खेलेका उनले २२ वर्ष राष्ट्रिय टोलीबाट खेल्ने क्रममा चार पटक अफ्रिकन च्याम्पियनसिपको उपाधि उचालेका थिए । ४५ वर्ष १ सय ६१ दिनमा विश्वकपको खेल खेल्दै हाडारीले यसअघि कोलम्बियाका फ्रायड मन्ड्रागोन्सको कीर्तिमान पनि भंग गरेका छन् ।
हाडारीको लागि विश्वकप फुटबल खेल्नु सबैभन्दा ठूलो सपना थियो जुन सपना उनले पूरा गरिसकेका छन् ।
The post नयाँलाई अवसर दिनुपर्छ भन्दै रुस विश्वकपका जेठा खेलाडी हाडारीको सन्यास appeared first on Sajha Post.