पोखरा, १९ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको उपाधिका लागि मंगलबार घरेलु टिम पोखरा पल्टनले चितवन राइनोजसँग खेल्दैछ । फाइनल खेलको पूर्वसन्ध्यामा दुई टोलीका कप्तानले आज पीपीएलको ट्रफी सार्वजनिक गरेका छन् ।
पर्यटकीय नगरी पोखराको सराङकोट डाँडामा पोखराका कप्तान शरद भेषावकर र चितवनका कप्तान पारस खड्काले संयुक्तरुपला विजेताले पाउने ट्रफी सार्वजनिक गरेका हुन् । घरेलु प्रतियोगिताका यी दुई परिचित कप्तानले माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राखेर ट्रफी सार्वजनिक गरेका छन् ।
पीपीएल क्रिकेटले पोखरालाई क्रिकेटको नयाँ गन्तव्यकारुपमा परिचित गराउँदा यहाँको पर्यटन प्रवर्धनमा टेवा पु¥याउन सराङकोट डाँडामा ट्रफी सार्वजनिक गरिएको जनाइएको छ । पीपीएलको फाइनल खेल भोलि पोखरा रंगशालामा हुनेछ । खेलको विजेताले घरेलु क्रिकेटको इतिहासमा सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
लिग चरणमा पाँचमध्ये तीन खेल जितेको पोखराले तालिकाको शीर्ष स्थानमा रहँदै सीधै फाइनलमा ठाउँ बनाएको हो । चितवनले लिग चरणमा तीन खेल जितेपनि रनरेटमा पछि परेपछि फाइनल प्रवेशका लागि प्लेअफमा काठमाडौंलाई हराएको थियो । यसअघि, धनगढी प्रिमियर लिग (डीपीएल) र एभरेस्ट प्रिमियर लिग (इपीएल) को फाइनलमा भिडिसकेका पारस र शरदको टोली पीपीएलमा पनि सुरुआती संस्करणकै उपाधिका लागि भिड्न लागेका हुन् ।
The post पीपीएलको ट्रफी यसकारण लगियो सराङकोट appeared first on Sajha Post.