एजेन्सी, २१ कात्तिक । लियोनेल मेस्सीबिना मैदानमा उत्रिएको स्पेनिस च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।
लिगको समूह चरण अन्तर्गत मंगलबार राति अवे मैदानमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानसँग १–१ को बराबरीमा रोकियो । बराबरीमा रोकिएपनि बार्सिलोना अंक तालिकाको आधारमा अन्तिम १६ मा पुग्न सफल भएको हो ।
समूह बी अन्तर्गतको खेलमा बार्सिलोनाले इन्टरसँग बराबरी खेलेको हो । चोटग्रस्त लियोनल मेस्सी बिनाको मैदानमा उत्रिएको बार्सिलोना अन्तिमसम्म अप्ठेरो अवस्थामा थियो । अन्तिम सात मिनेट बाँकी हुने बेलासम्म गोलरहित रहेको खेलमा ८३ औँ मिनेटमा माल्कमको गोलबाट बार्सिलोनाले अग्रता लियो ।
तर ८७ औँ मिनेटमा माउरिसिओ आइकार्डीले इन्टरका लागि गोल गरेपछि दुवै टिम बराबरीमा पुगे । यद्यपि, समूहको शीर्ष स्थानमा रहेको बार्सिलोना अन्तिम १६ मा पुग्ने पक्का भएको छ ।
इन्टर मिलान दोस्रो स्थानमा छ र उसको अन्तिम १६ मा स्थान बनाउने सम्भावना छ भने उस्तै सम्भावना टोटनह्यामको पनि छ ।
यसैबीच मंगलबार राति नै भएको खेलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले पिएसभी एन्थोवेनलाई २–१ ले हराएको छ । टोटनह्यामको जितका लागि दुवै गोल ह्यारी केनले गरे । एन्थोवेनका लागि डी जोङ्गले एक गोल गरे पनि पराजय रोक्न सकेनन् ।
The post बार्सिलोना अन्तिमा १६ मा, मेस्सी मैदान फर्कन सकेनन् appeared first on Sajha Post.