
काठमाडौं, ११ माघ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । ब्याटिङमा कमजोर देखिएको नेपाल तीन विकेटले पराजित भएको हो । यो पराजयसँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १-० ले पछि परेको छ ।
टस जितेर फिल्डिङ रोजेको युएईले नेपालबाट ११४ रनको सामान्य लक्ष्य पाएको थियो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो । उक्त लक्ष्य युएईले ३२.१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्न सफल भयो ।
युएईको जितमा घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन जोडेर आउट भए । २० ओभरको समाप्तिमा सात विकेट गुमाएर ७५ रन बनाएको युएईका जितमा अमिर हायत र इम्रन हैडरले राम्रो प्रदर्शन गरे । हायत २४ र हैडर २८ रनमा अविजित रहँदै जितका लागि निर्णायक भूमिका खेले ।
बलिङमा नेपालले राम्रो प्रदर्शन गरे पनि जीतका लागि यथेष्ट भएन । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।
कप्तान पारख खड्का २० रनमा आउट भएपछि नेपाल दबावमा देखियो । सोमपालले ३० र आरिफले २५ रन जोडेपछि नेपालले खेललाई सामान्य लयमा फर्काएको थियो ।
त्यसैगरी, विनोद भण्डारीले पाँच, पवन सर्राफले चार र करण केसीले तीन रन बनाए । युएईका लागि कप्तान मोहम्मद नाभिद र अमिर हायतले समान तीन-तीन र इम्रन हैडरले दुई विकेट लिए ।
The post कमजोर ब्याटिङसँगै पहिलो एकदिवसीयमा नेपाल युएईसँग पराजित appeared first on Sajha Post.