काठमाडाैं, २ वैशाख । आईसीसी यू–१९ विश्वकपका लागि जारी एसियन छनोटको तेस्रो खेलमा नेपालले मलेसियाविरुद्ध शानदार जित दर्ता गरेको छ ।
मलेसियाले दिएको ९३ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा केवल १३ ओभरमा पूरा गर्दै ८ विकेटले विजयी भएको हो ।
नेपालले २२२ बल बाँकी रहँदा ९५ रन जोड्यो । नेपालको जितका लागि रित गौतमले ४५ बलमा ५ चौकासहित ३९ रन जोड्दै अविजित रहे भने आसिफ शेखले १८ बलमा २६ रन जोड्दै आउट भए । त्यसैगरी पवन सर्राफले १४ बलमा १९ रन जोड्दै आउट भए भने रोहित पौडेलले १ बलमा ६ रन बनाई अविजित रहे ।
टस जितेको नेपालले मलेसियालाई ब्याटिङको लागि निम्तो दिएपछि घरेलु मैदानमा उत्रिएको मलेसियाले २२.५ ओभरमा अल आउट हुँदै केवल ९२ रन मात्र जोड्न सकेको थियो ।
मलेसियाका लागि सर्वाधिक रन इजाज डानिएलले ३७ रन बनाए भने मोहमम्द अमिरले १३ रन र हाकिम हरिसनको १० रन जोडे । अन्य ब्याट्स्म्यानहरुले दोहोर अंकमा रन जोड्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका कुशल मल्ल र पवन सर्राफले समान ३/३ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई पराजित गरे पनि यूएईविरुद्ध जित निकाल्न वर्षा बाधक बनेको थियो । वर्षाका कारण डीएलको आधारमा निर्णय गर्दा नेपाल युएईसँग केवल १ रनले पराजित भएको हो । यो पराजयसँगै नेपालको विश्वकप छनोटको सम्भावना कमजोर भएको छ।
अब बाँकी खेलहरुमा कुनै टिमसँग यूएई पराजित भएमा मात्र नेपालको आगामी यात्रा सुनिश्चित हुनेछ । जितसँगै नेपाल ३ खेलमा २ जितसहित ४ अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
The post यू–१९ विश्वकप छनोट: मलेसियाविरुद्ध नेपालको शानदार जित appeared first on Sajha Post.