एजेन्सी, २५ असोज । अजेन्टिनी चर्चित स्ट्राइकर लियोनेल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना रुसमा हुने विश्वकप फुटलबको लागि छनौट भएको छ ।
विश्वकप छनोटका लागि जित्नै पर्ने दबाबमा मैदानमा उत्रिएका साविक उपविजेता अर्जेन्टिना र इक्वेडर बीचको खेलमा मेसीले घरेलु टिम इक्वेडरविरुद्ध ह्याट्रिक गरेर आफ्नो देशलाई संकटबाट बाहिर निकाल्न सकेका हुन् । सुरुवातमा गोल खाएपनि मेसीले दुई गोल गर्दे खेलमा अग्रता कायम गराएका थिए । दोस्रो हाफमा थप एक गोल गर्दे खेल ३-१ को अवस्थामा पुर्याए ।
खेल सुरु भएर समालिन नपाउँदै पहिलो मिनेटमानै रोमारीयो इबाराको गोलमार्फत इक्वेडरले अग्रता लिएर अर्जेन्टिनाको संकट चर्काएको थियो । तर, १२ औं मिनेटमा मेसीले खेल बराबरीमा ल्याए भने पुनः २० औं मिनेटमा अग्रता दोब्बर बनाए भने मेसीले ६२ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
यो जितले अर्जेन्टिनालाई प्लेअफ नखेली सिधै छनोट हुन पर्याप्त भयो। अर्जेन्टिनासँगै ब्राजिल, उरुग्वे र कोलम्बिया पनि विश्वकपका लागि सिधै छानिएका छन्। यसैगरी दक्षिण अमेरिकी च्याम्पियन चिली विश्वकपमा छनोट हुन असफल भएसँगै पेरुले पनि प्लेअफमा स्थान पक्का गरेको छ। विश्वपकमा छनोट हुन चिलीले ब्राजिललाई कम्तिमा पनि बराबरीमा रोक्नुपर्ने थियो तर, चिली ३-० ले पराजित हुन पुग्यो । यसको लाभ समान अंक रहेको पेरुले उठायो । पेरुले गोल अन्तरमा चिलीलाई पछि पार्दै प्लेअफमा न्युजिल्याण्डसँगसँग भिड्ने भएको छ ।
The post मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाको उद्धार, संकट चिर्दै विश्वकपमा appeared first on Sajha Post.